डेंगु संक्रमणबाट एकजनाको मृत्यु

काठमाण्डु टुडे २०८१ साउन २२ गते १३:२७ मा प्रकाशित

काठमाण्डु, २२ साउन– तनहुँमा डेंगु संक्रमणबाट एकजनाको मृत्यु भएको छ । तनहुँका ५० वर्षीय एक व्यक्तिको डेंगु संक्रमण पछि मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. यदुचन्द्र घिमिरेले जानकारी दिएको छ ।

ती व्यक्तिमा दीर्धकालिन स्वास्थ्य समस्या समेत उनले जानकारी दिएका छन । गत जनावरी देखि हालसम्म ७३ जिल्लाका २ हजार ३६५ जनामा डेंगु पोजिटिभ देखिएको महाशाखाले जनाएको छ ।

हालसम्म ५ जिल्लामा एकसय भन्दा बढीमा डेंगु संक्रमित भइसकेका छन् । काठमाण्डुमा २८७, कास्कीमा १३७, झापामा १३३, चितवनमा ११६ र तनहुँमा ११० जनामा डेंगु संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

यसवर्ष ७३ जिल्लामा डेंगु फैलिसकेको छ । मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक डेंगुका बिरामी देखापरेका छैनन् । एक दशकको तथ्यांकलाई हेर्दा डेंगु सबैभन्दा बढी असार, साउन, भदौ र असोजसम्म रहने देखिन्छ । अब डेंगुका बिरामी बढ्नसक्ने महाशाखाको अनुमान छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us