धादिङ, १५ साउन–बासी तथा सडेगलेको दूषित खाना बिक्री गर्ने थाक्रे गाउँपालिका–८ चारकिलोको एक होटल कारबाहीमा परेको छ ।
ग्राहकले पृथ्वी राजमार्गमा सञ्चालित न्यू रिया होटमा बासी, गह्नाएको र दूषित खाना बिक्री भइरहेको भन्ने गुनासो गरेपछि अनुगमन गरिएको जिल्ला अनुगमन समितिले जनाएको छ ।
जिल्ला अनुगमन समिति संयोजक सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालका अनुसार गुनासो गर्नेमाथि होटल सञ्चालक जाइलागेका थिए । उनले अपशब्द बोल्दै गाली गरेको ग्राहकले बताएका छन् । एक ग्राहकले आइतबार बिहान प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरी त्यसबारे जानकारी दिएका थिए ।
होटललाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।
उपभोक्ता संरक्षण ऐन–२०७५ को दफा १६ उपदफा २ –क) अनुसार अनुचित व्यापारिक क्रियाकलाप गर्नेमाथि बासी, अखाद्य र दूषित खाने बिक्री गर्नेमाथि जरिवाना र कैद सजायसम्म हुन सक्ने व्यवस्था छ ।
सोही ऐनको दफा ३८ (ङ) बमोजिम कसुर गरेको पाइएकाले दफा ३९ उपदफा १ (ख) बमोजिम दुई लाख जरिवाना गरिएको अर्यालले जानकारी दिए ।
खानीखोलाबाट गएको प्रहरी टोलीले वडाध्यक्षसहित जनप्रतिनिधिको रोहबरमा मुचुल्का गरी होटलमा छापा मार्दा सडेगलेको खानेकुरा बेच्ने गरेको भेटिएको थियो ।
प्रहरीले होटल सञ्चालक शिवपुरी गाउँपालिका–८ नुवाकोटका ३९ वर्षीय राजेश पाठकलाई पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय धादिङमा राखिएको छ ।