काठमाण्डु, १४ साउन– सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको तेस्रो बैठकमा सरकार पक्ष सहभागी नभएपछि प्रतिपक्षी दलले सांकेतिक विरोध गरेका छन ।
प्रदेश सभाको बैठकमा मन्त्रीको अनुपस्थितिमा बैठक चल्न नसक्ने भन्दै सभामुख भीमबहादुर भण्डारीले अनिश्चितकाललाई बैठक स्थगित गरेपछि प्रतिपक्षी दल कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले प्रदेश सभा भवन अगाडि टर्च बालेर सरकारको खोजी गरेका हुन ।
उनीहरूले मोबाइलको फ्ल्यास लाइट बालेर विरोध गरेका हुन । एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले प्रदेशका नागरिक बाढी, पहिरो प्रभावित भएका बेला सरकारले प्रदेश सभाको बैठक समेत छलिरहेको भन्दै विरोध जनाएका हुन ।
कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले सरकार प्रदेश सभाको बैठक छलेर हिँडेकाले उक्त विषयमा आफूहरू गम्भीर रहेको बताएका छन ।
कांग्रेस र एमालेका एक चौथाइ भन्दा बढी प्रदेश सभा सदस्यको मागअनुसार प्रदेश प्रमुखले आह्वान गरेको विशेष अधिवेशनको तेस्रो बैठक सोमबार दिउँसो २ बजे बोलाइएको थियो ।
बैठक सुरु भएपछि सभामुख भीमबहादुर भण्डारीले बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य बनाइएको तर मन्त्री नै अनुपस्थित रहेको बैठक अघि बढाउन नसक्ने भन्दै अनिश्चितकाललाई स्थगित गरेका थिए ।