संसदमा ओली लक्षित विश्वप्रकाशको प्रश्नः गिरीबन्धुको छानबिन हुनुपर्छ, काँग्रेसमाथिको आरोपको जवाफ चाहिन्छ 

काठमाण्डु टुडे २०८१ साउन १३ गते १९:१६ मा प्रकाशित
काठमाण्डु, १४ साउन– कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरिबन्धु टी–स्टेटसम्बन्धी अनियमितता छानबिनको माग गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै शर्माले उक्त प्रकरणको छानबिन अघि बढाउन सरकारसँग माग गरेका हुन् । उनले प्रधानमन्त्री केपी ओलीतर्फ लक्षित गर्दै काँग्रेसको सरकार भएका बेला गिरीबन्धुको हदबन्दीभन्दा बढीको जग्गा अनधिकृत रुपमा बेच्न दिने प्रक्रिया सुरु भएको भए स्पष्ट गर्न माग गरे ।
एमाले र माओवादी सरकारमा हुँदा काँग्रेसले प्रतिनिधिसभामा लगातार गिरीबन्धु टी–स्टेट प्रकरणको छानबिनको माग गरेको थियो । ओलीले प्रतिक्रियामा काँग्रेसकै सरकार भएका बेला गिरीबन्धुको जग्गा बेच्न दिएको प्रत्यारोप लगाएका थिए । शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणको पनि छचानबिन हुनुपर्नेमा जोड दिए ।
‘गिरीबन्धु र नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि इमान्दार अनुसन्धान सुरू हुनुपर्छ,’ शर्माले भने, ‘त्यो अनुसन्धानले हामी आफैंमाथि प्रश्न गर्दैगर्दा छानबिनको दायरामा उभिनका लागि तयार हुनुपर्छ ।’अरूमाथि अनुसन्धानको माग गर्न सजिलो भए पनि आफूमाथि अनुसन्धान गर भन्न गाह्रो हुने उनको भनाइ थियो ।
‘गिरीबन्धुको जग्गा कांग्रेसले बेचेर खाएको हो भन्ने कांग्रेसलाई नै बदनाम गर्ने गरी एउटा आरोप लागेको थियो’, ओलीतर्फ लक्षित गर्दै शर्माले भने, ‘यो बेला प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु । कांग्रेसका को व्यक्ति हुन् तिनले छुट पाउन हुँदैन । यो आरोपको छानबिन गरियोस् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि निर्दोष फस्न हुँदैन । दोषी उम्कन हुँदैन ।’
शर्माले गृहमन्त्री रमेश लेखकलाई भ्रष्टाचारविरूद्धको अनुसन्धानमा हस्तक्षेप, स्टन्ट, अनुग्रह र पूर्वाग्रहमुक्त भएर काम गर्न सुझाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us