काठमाण्डु, १३ साउन– कांग्रेस महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले गिरीबन्धु टी–इस्टेटको जग्गाबारे अनुसन्धान गर्न सरकारसँग माग गरेका छन ।
आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद शर्माले यस्तो माग गरेका हुन । उनले कांग्रेस र एमालेको गठबन्धन अनुसन्धानका फाइल दबाउनका लागि बनाइएको भन्ने भाष्य स्थापित गर्ने प्रयास भएको पनि बताएका छन ।
उनले यो भाष्यलाई गलत सावित गर्न गिरीबन्धु टी–इस्टेटको जग्गा प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा सरकारले अनुसन्धान अगाडि बढाउनुपर्ने पनि बताएका छन ।
उनले भने, ‘गिरीबन्धुको ७० बिघा बेचेर खाएको भनेर कांग्रेसमाथि गम्भीर आरोप लागेको थियो । प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु कांग्रेसका ती को हुन् ? तिनले छुट पाउनुहुन्न ।
यो आरोपको छानबिन गरियोस् ।’ नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खुल्दा माओवादी र कांग्रेसको सरकार रहेको उनले स्मरण गरे । एमालेले पनि सरकारमा पुगेसँगै यो प्रकरणलाई निष्कर्षमा पुर्याउनुपर्ने उनको आग्रह गरेका छन ।