त्रिशूलीमा हराएको बस खोज्न भारतबाट ल्याइएको चुम्बक नै हरायो, फर्कने तयारीमा भारतीय टोली

काठमाण्डु टुडे २०८१ साउन १२ गते १९:१४ मा प्रकाशित

काठमाण्डु, १२ साउन– त्रिशूलीमा पहिरोसँगै खसेर हराइरहेका दुई बस खेज्न भारतबाट ल्याइएको दुईमध्ये एक चुम्बक हराएको छ ।

भारतबाट मगाइएको १९ र १४ केजीका दुई ‘म्याग्नेटिक डिभाइस’ (चुम्बक) को सहायतामा शंकास्पद स्थानमा शनिबार बस खोजिएको थियो । दुईमध्ये १९ किलोको चुम्बक बस खोज्ने क्रममा नदीभित्रै हराएको हो ।

यसअघि गत ५ साउनमा भारतबाट तीनवटा सोनार क्यामेरासहित नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) को १२ सदस्यीय टोली बस खोज्न आएको थियो ।

सोनार क्यामेराले सिमलताल नजिकै शंकास्पद वस्तु देखाएकाले बस भएको आशंकामा एनडिआरएफले चुम्बक मगाएको थियो ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शनिबारका लागि खोजीकार्य स्थगन गरिएको जानकारी दिए ।

भारतीय टोलीले सशस्त्र प्रहरीको कुरिनटारस्थित विपद व्यवस्थापन तालिम शिक्षालयका गोताखोर तथा नेपाली सेना र प्रहरीसँगको सहकार्यमा बस र बससँगै बेपत्ता भएका यात्रुको खोजीकार्य जारी राखेको छ ।

यादवका अनुसार भारतीय शनिबार अन्तिम प्रयास गर्दा समेत सफल नभएपछि भारतीय टोली फर्कने मनस्थितिमा छ ।

भारतीय टोली फर्किएको अवस्थामा नेपाली सुरक्षाकर्मीको टोलीले समेत खोजी कार्य स्थगन गर्न सक्ने यादवको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us