काठमाण्डु, १२ साउन– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीसँग आत्तिएर काँग्रेस सभापति शेरबहादुर देउवा
आफूहरुले बोलाएको कार्यक्रममा सहभागी हुन नआएको बताएका छन् । कम्युनिष्ट संस्थापक पुष्पलाल श्रेष्ठको जन्म शताब्दीका अवसरमा शनिबार आयोजित कार्यक्रममा देउवालाई पनि निम्ता दिइएको थियो ।
तर, उनी उपस्थित भएनन् । कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले आउन मन भएर पनि ओलीले नराम्रो सोच्न सक्ने भयका कारण देउवा नआएको उल्लेख गरे । ‘हामीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई पनि बोलाएका थियौं ।
शेरबहादुरजी आत्तिनुभएको होला । यहाँ आयो भने केपी ओलीले नकारात्मक रुपमा लिन्छन् कि भन्ने ठान्नुभएको होला । हामी बुझ्दछौं सबै कुरा । यो मुटुको धड्कन अलिअलि बुझिहालिन्छ’, नेपालले भने, ‘त्यसैले केही फरक पर्नेवाला छैन । उहाँ आउन पाए पनि नपाए पनि भावना हामीसँग छ भन्ने ठानेका छौं । शरीर त्यहीं छ । मन यता पनि छ ।’
फरक प्रसंगमा उनले काँग्रेस र एमालेले चाहेर मात्र संविधान संशोधन सम्भव नरहेको बताए । संविधान संशोधन गर्ने विषय लुकेर गर्ने कुरा नभएको उल्लेख गर्दै विचार गरेर अघि बढ्न देउवालाई आग्रह गरे ।