बिचौलियासँग आत्मसमर्पण गर्दिन, सडकमा पलेंटी कस्छुः प्रचण्ड

काठमाण्डु टुडे २०८१ साउन १२ गते १६:२० मा प्रकाशित

काठमाण्डु, १२ साउन–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमालेले संविधान संशोधनमार्फत नागरिक अधिकार कटौती गर्न खोजे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको जन्म शताब्दीका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले हजारौंको बलिदानबाट प्राप्त उपलब्धी खोस्न खोजिए फेरि सडकमा पलेँटी कसेर बस्न तयार रहेको बताए । ‘फेरि जरुरी पर्छ भने सडकमा पलेटी कस्न तयार छौं’, उनले भने, जनताको अधिकार कटौती गर्न दिने छैनौं ।’

दुई दलले पछाडि फर्काउन जबर्जस्ती संविधान संशोधन गर्न खोजे जनताले आफूहरुलाई साथ दिने उनको भनाइ थियो । यद्यपि अगाडि जान र जनतालाई अहिलेभन्दा बढी अधिकार दिलाउन संविधान संशोधन गर्ने कुरामा भने आफूहरुको विमति नहुने स्पष्ट गरे ।

संविधान संशोधनमार्फथ आदिवासी जनजाति, महिला, दलित र उत्पीडित समुदायलाई थप अधिकार ग्यारेन्टी गरिनुपर्ने औंल्याए । प्रचण्डले नेपालमा दुई दलीय व्यवस्था ल्याउने बहस चलेको भन्दै पश्चिमा शैलीको उक्त प्रणाली स्वीकार्य नहुने बताए ।

‘थ्रेस होल्ड बढाएर साना पार्टीलाई निस्तेज बनाउने र पश्चिमा देशमा जस्तै तथाकथित दुई पार्टी सिस्टममा नेपाललाई लैजान खोजिएको छ’, उनले भने ।

फरक प्रसंगमा निवर्तमान प्रधानमन्त्रीसमेत रहेका उनले राज्य संचालन प्रक्रियामा बिचौलियाको सेटिङ भत्काउन खोज्दा आफू सरकारबाट बाहिरिनुपरेको दाबी गरे ।

दलाल पुँजीपतिहरुको अगाडि आत्मसमर्पण गर्न तयार नभएको र बिचौलियाको सेटिङमा चल्न अस्वीकार गरेका कारण सरकार ढालिएको आरोप उनको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us