उपत्यकामा दुर्घटना र मानवीय क्षति दुवैमा कमी

काठमाण्डु टुडे २०८१ साउन १२ गते १६:०७ मा प्रकाशित

काठमाण्डु, १२ साउन– काठमाण्डु उपत्यकामा सवारी दुर्घटना र मानवीय क्षति दुवैमा कमी आएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा उपत्यकामा दुर्घटना र त्यसबाट हुने मानवीय क्षति घट्दो क्रममा छ । आर्थिक वर्ष २०७८/७९ मा १० हजार ७ सय ३३ सवारी दुर्घटनामा १ सय ९१ जनाको मृत्यु भएको थियो ।

आर्थिक वर्ष २०७९/८० मा १० हजार ६ सय ७५ दुर्घटना हुँदा १ सय ८७ को मृत्यु भयो । अघिल्लो आर्थिक वर्षमा हजार ८ सय ८१ सवारी दुर्घटना हुँदा १ सय ७७ जनाको मृत्यु भएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

उनका अनुसार गत आवमा दुर्घटनामा परी १ सय २९ पुरुष र ४८ महिलाको मृत्यु भएको छ । जनचेतनामूलक कार्यक्रम, सुरक्षा जाँचमा कडाइ, विभिन्न अभियानसहित उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउँदा सडक दुर्घटनामा केही कमी ल्याउन सकिएको प्रहरी उपरीक्षक खड्काको दाबी छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा दुर्घटना सङ्ख्या १६।८ र मृत्यु हुनेमा छ प्रतिशतले कमी आएको उनले जानकारी दिए । चालु आर्थिक वर्षमा पनि दुर्घटना न्यूनीकरण गर्ने लक्ष्यसहित ट्राफिक व्यवस्थापन सुधारलाई थप प्रभावकारी बनाउने योजना अघि बढाइएको खड्काले बताए ।

जनचेतनामूलक कार्यक्रमले सडक प्रयोगकर्तालाई ट्राफिक नियमको पालना गर्न र सडक सुरक्षालाई आत्मसाथ गर्न प्रेरणा दिएको पाइएको उनको बुझाइ छ ।

ट्राफिक सप्ताह कार्यक्रम, यात्रुमैत्री विशेष अभियान, ट्राफिक सचेतना विशेष अभियानलगायत कार्यक्रममा समावेश भएका ट्राफिक गतिविधिमार्फत हालसम्म ४ लाख ७७ हजार ३०३ जना प्रत्यक्ष रुपमा लाभान्वित भएका प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारी चलाउने विरुद्धको अभियान, लेन अनुशासन पालना, लापरबाहीका साथ सवारी चलाउने र तीव्रगतिका कारणले हुने दुर्घटना न्यूनीकरणमा अभियान प्रभावकारी बनेको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठले बताए ।

उनका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने १० लाख बढीलाई ट्राफिक प्रहरीले कारबाही गरी जरिवाना बापत ७२ करोड ६० लाख सङ्कलन गरेको छ ।

विभिन्न सडक केन्द्रित सचेतना कार्यक्रम सञ्चालन, ट्राफिक सुरक्षा जाँच, चौकी विस्तार, भित्री गल्ली तथा साँघुरा सडक र करिडोरमा नियमित गस्ती थालिएको बताउँदै प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठ यसलाई अझ प्रभावकारी बनाउन थप योजना बनाइ कार्यान्वयनको चरणमा रहेको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us