धनगढीको नोभा अपतालमा तनाब, प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाण्डु टुडे २०८१ साउन १२ गते १३:०५ मा प्रकाशित

धनगढी, १२ साउन– धनगढीस्थित नोभा अस्पतालमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

उपचारका क्रममा कञ्चनपुर बेलौरीका १७ वर्षीय नसिब चौधरीको मृत्यु भएपछि मृतकका आफन्त तोडफोडमा उत्रिएका थिए ।

मृतक पक्षले चिकित्सकको लापरबाहीले घटना भएको आरोप लगाएको छ । जन्डिस चौधरी ७ साउनमा अस्पताल भर्ना भएका थिए । शुक्रबार उपचार हुन नसक्ने भन्दै अस्पतालले नेपालगञ्ज रेफर गरेकामा एम्बुलेन्समा चढ्ने बित्तिकै उनको मृत्यु भएको थियो ।

घटनापछि स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड अश्रुग्यास प्रहार गरेको हो । कैलाली प्रहरी प्रमुख एसपी पदमबहादुर विष्टले अराजक समूहले अस्पतालमा ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको जानकारी दिए ।

समस्या समाधानका लागि अस्पताल प्रशासन र मृतकका परिवारबीच वार्ता भइरहेको छ । मृतकका परिवारले लापरबाही गर्ने चिकित्सकमाथि कारबाही र क्षतिपूर्ति नपाएसम्म शव नबुझ्ने अडान राखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us