सूचना तथा प्रविधिसँग सम्बन्धित सबै पुराना ऐन, कानुन र नीति खारेज हुन्छः सञ्चारमन्त्री गुरुङ

काठमाण्डु टुडे २०८१ साउन ११ गते १५:२८ मा प्रकाशित

काठमाण्डु, ११ साउन– सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सञ्चार तथा प्रविधि क्षेत्रलाई गतिशील बनाउन पुराना ऐन, कानुन र नीति खारेज गरिने बताएका छन ।

आज (शुक्रबार) क्यान महासंघले गरेको बीटूबी समिट २०२४ मा बोल्दै उनले यस्तो बताएका हुन । उनले प्रविधि क्षेत्रका सबै पुराना नीति खारेज गरेर नयाँ नीति एक वर्षभित्रै बनाउने पनि बताएका छन ।

उनले भने, ‘सञ्चार तथा प्रविधि क्षेत्रमा पञ्चायतदेखिकै ऐन कानुन र नीतिले अहिलेसम्म शासन गरिरहेको छ। तर देशमा ठुल्ठूला परिवर्तनहरू भइसके पनि नीति र कानुनहरु परिवर्तन भएका छैनन्, ‘त्यो ऐन कानुन र नीति नयाँ बनाउनेतर्फ लाग्छु ।’

उनले ब्रोडकास्टिङ ऐन र नीति अहिले पनि पञ्चायनकालकै रहेको भन्दै यसमा नयाँ जनादेश अनुसार बनाउने प्रतिवद्धता पनि जनाएका छन । उनले सूचना प्रविधि नीति तथा विधेयक बनाउन खुलेर सुझाव दिन सबैसँग आग्रह समेत गरेका छन ।

उनले मन्त्रालयले नीति कानुनमा क्यान महासंघ, एफएनसीसीआई, सीएन आई, प्रविधिका विज्ञलगायतसँग छलफल गरेर मात्रै नीति र कानुन बनाउनेतर्फ लाग्ने बताएका छन ।

यस्तै क्यान महासंघका अध्‍यक्ष रन्जित पोदारले सरकारले ल्‍यापटप नोट प्याडमा लगाएको ५ प्रतिशतको अन्तशुल्कबारे पुनर्विचार गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘अहिले सरकार डिजिटल नेपालको कुरा गरिरहेको छ। तर विद्यार्थी र देशका सबै स्कुलमा अत्यावश्यक स्मार्टबोर्ड, ल्यापटप र नोटप्याडमा ५ प्रतिशत अन्तशुल्क लगाएको छ। यसले त झन चोरी बढाउने देखिन्छ। त्यसकारण यसबारेमा सरकारले पुनर्विचार गरी हटाउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us