काठमाण्डु,१० साउन–भारतको हस्तक्षेपकारी भूमिकाका कारण गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत भएको छ ।
विश्व सम्पदा समिति (यूनेस्को वल्र्ड हेरिटेज कमिटी) को भारतको नयाँदिल्लीमा जारी ४६औँ सेसनमा उक्त प्रस्तावमाथि छालफल भएको थियो ।
बैठकमा लुम्बिनीलाई खतराको सूचीमा राख्नेसम्बन्धी मस्यौदामाथि भारतले संशोधन प्रस्ताव राखेको थियो । कमिटीमा रहेका २१ मध्ये १९ राष्ट्र भारतको संशोधन प्रस्तावको पक्षमा उभिएपछि खतराको सूचीमा राख्ने प्रस्ताव असफल भएको हो ।
भारतको प्रस्तावमा सिधै खतराको सूचीमा समावेश नगरी सुधारका लागि समय दिनुपर्ने उल्लेख छ । युनेस्कोले सम्पदामाथि खतरा उत्पन्न हुने गरी पूर्वारधार निर्माण भएको भन्दै लामो समयदेखि खतराको सूचीमा राख्ने चेतावनी दिँदै आएको छ ।
दुई वर्षअघि मात्र पत्र पठाउँदै युनेस्कोले लुम्बिनीलाई खतराको सूचीमा राख्ने चेतावनी दिएको थियो । विश्व सम्पदा समिति सचिवालयले लुम्बिनीलाई खतराको सूचीमा राख्ने तयारी थालेपछि नेपालले त्यसलाई रोक्न भारतसहित सदस्य मुलुकमार्फत कुटनीतिक पहल गरेको थियो ।
बैठममा नेपालका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेय, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामा, सदस्यसचिव सानुराजा शाक्य, कोषाध्यक्ष ढुण्डिराज भट्टराई, वरिष्ठ निर्देशक ज्ञानिन राई र वरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेती सहितको टोली सहभागी छ ।