लीलादेवी गडतौलालाई मुख्यसचिव बनाउने मन्त्रिपरिषदको निर्णय

काठमाण्डु टुडे २०८१ साउन १० गते १७:१० मा प्रकाशित

काठमाण्डु, १० साउन– आज बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले लीलादेवी गडतौलालाई मुख्यसचिव बनाउने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले कायममुकायम मुख्यसचिव गडतौलालाई मुख्यसचिव बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन ।

गडतौलालाई असार ३१ गतेको मन्त्रिपरिषद बैठकले कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो। त्यसअघि असार ९ गते उनलाई निमित्त मुख्यसचिवको जिम्मेवारी तोकिएको थियो ।

तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी वरिष्ठ सचिव गडतौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी दिइएको थियो ।

गडतौला आउँदो भदौ १४ गते उमेर हदका कारण अनिवार्य अवकाशमा जादै थिइन् । उनी २०७७ कात्तिकमा सचिव भएकी थिइन्। निजामती सेवा ऐन २०४९ अनुसार मुख्य सचिवको कार्यकाल तीन वर्ष र सचिवको पाँच वर्ष हुन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us