काठमाण्डु, १० साउन– सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार जारी छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार जारी छ ।
क्याप्टेन शाक्य सामान्य कुराकानी गर्न सक्ने भएका छन । बिहीबार बिहान केएमसीकी मेडिकल डाइरेक्टर डा. मिना थापासँग क्याप्टेन शाक्यले जहाजलाई कन्ट्रोल गर्न नसकिएको जानकारी दिएका छन ।
‘करिब १०० फिटमा पुगेपछि जहाज माथि लैजान सकिनँ । तल खस्न थाल्यो,’ शाक्यको भनाइ उद्धृत गर्दै डा. थापाले भनिन्, ‘त्यसपछि जहाज मेरो नियन्त्रणमा भएन ।’ ‘एकैपल्ट थिचिएको जस्तो अनुभव भयो ।
सानो प्वालबाट आफैं बाहिर निस्किएँ । त्यसबाट नस्किन लाग्दा कसैले मलाई तानेको याद छ,’ उनले घटनाबारे आफ्नो सम्झना सुनाएका थिए । काठमाण्डुबाट बुधबार बिहान ११ः ११ मा पोखराका लागि उडेको ९ एन–एएमई सीआरजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेलगत्तै परिसरभित्रै दुर्घटना भएको थियो ।
घटनामा परेर १८ जनाको मृत्यु भएको छ भने पाइलट शाक्यको घाइते अवस्थामा उद्धार गरेर केएमसी अस्पतालमा ११ः ३० मा पुर्याइएको थियो । ‘उहाँको शरीरको विभिन्न भागमा इन्जुरी थियो ।
मुख, खुट्टा, आँखाको भाग, टाउको लगायतमा चोटपटक लागेको थियो’ डा. थापाले भनिन्, ‘प्राथमिक उपचार गरेपछि हामीले विभिन्न परीक्षण सुरु गरेका थियौं ।’ अस्पतालका अनुसार क्याप्टेन शाक्यको शरीरका विभिन्न भागमा चोटपटक लागेका हुनाले हाडजोर्नी विशेषज्ञ, न्यूरोसर्जन, नाक, कान घाँटी लगायत विशेषज्ञ चिकित्सकले स्वास्थ्य जाँच गरिरहेका छन् ।
डा. थापाका अनुसार बुधबारै क्याप्टेन शाक्यको सिटीस्क्यान, एक्सरे, रगत लगायत परीक्षण गरिएको थियो । शाक्यको नाकको हड्डी भाँचिएको छ । त्यसैगरी ढाडको एक हड्डी भाँचिएको छ ।