हामी विरुद्ध षड्यन्त्रका तानाबाना बुनिँदैछन्: अध्यक्ष नेपाल

काठमाण्डु टुडे २०८१ साउन १० गते १३:४८ मा प्रकाशित

काठमाण्डु, १० साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीविरुद्ध षड्यन्त्र सुरु भएको दाबी गरेका छन ।

आज (बिहीबार) पार्टी केन्द्रिय कार्यालय आलोनगरमा बसेको केन्द्रिय कमिटीको बैठकमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन । उनले पार्टीविरुद्ध विभिन्न षड्यन्त्रका तानाबानाहरु बुनिँदैछन् भन्ने कुरा पनि सुन्नमा आएको बताएका हुन ।

उनले सो बारेमा यकिन नभइसके पनि पार्टीबिरुद्ध षड्यन्त्र सुरु भएको बताएका छन । उनले षड्यन्त्रका विरुद्धमा गहन विश्लेषण गरेर जानकारी हासिल गर्नुपर्ने बताए ।

उनले पार्टीले पूर्ण शतर्कता अपनाउनुपर्ने पनि बताएका छन । उनले भने, ‘हाम्रा बिरुद्धमा अनेकौँ किसिमका षड्यन्त्रका तानाबानाहरु बुनिँदैछन् भन्ने कुरा पनि सुन्नमा आइरहेको छ ।

कति सत्य हो, कति असत्य हो ? थाहा छैन । तर कति सत्य हुन्, कति असत्य हुन् भनेर पनि हुँदो रहेनछ । लेखेर पनि हुँदा रहेनछ । बोलेर हुँदो रहेनछ । त्यसको थोरै एनालिसिस गर्नुपर्ने रहेछ ।

त्यसको बारेमा हामीले जानकारी हासिल गर्नुपर्छ । त्यस आधारमा आफ्नो तर्फबाट पूर्ण शतर्कता अपनाउनुपर्छ । यसअर्थमा विभिन्न राजनीतिक दलहरुसँग, राजनीतिक शक्तिहरुसँग हामीले संवाद जारी राख्नुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us