सौर्य एयरलाइन्स दुर्घटना: सात जनाको पोस्टमार्टम हुँदै

काठमाण्डु टुडे २०८१ साउन १० गते १३:१६ मा प्रकाशित

काठमाण्डु, १० साउन– आज बिहिबार सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका सात जनाको पोस्टमार्टम गरीदै छ । हिजो बुधबार काठमाण्डुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सौर्य एयरको ९–एनए एमई विमान दुर्घटनामा परेर मृत्यु भएका १८ जनामध्ये सात जनाको डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट पोस्टमार्टम हुने भएको हो ।

हिजो ४ जनाको पोस्टमार्टम सकिएको त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा.गोपालप्रसाद चौधरीले जानकारी दिएका छन । अस्पताल स्रोतका अनुसार पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा २५ जना चिकित्सकहरू खटिएका छन् ।

डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट पोस्टमार्टम गर्दा सुरुमा शव पहिचानका लागि फिंगर प्रिन्ट, डेन्टल (दाँतको भाग) र शरीरमा स्थायी रूपमा बनेका संकेतहरू (खत, ट्याटु आदि), पहिरन, गहना लगायत हेरिने विभाग प्रमुख चौधरीले जानकारी दिएका छन । उनले त्यस्ता साइनबाट कुनै पहिचान हुन नसकेको खण्डमा मात्रै डीएनएको प्रक्रियामा जाने जानकारी दिएका छन ।

उनले कुनै शव पहिचान गर्न नसकेर डीएनएको प्रक्रियामा जान परेको खण्डमा कम्तीमा दुई हप्ता लाग्ने समेत जानकारी दिएका छन । विमानमा दुर्घटनामा १८ जनाको निधन भएको छ भने एक जना घाइते भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us