सौर्यको जहाज दुर्घटना छानबिनका लागि समिति गठन, बिहीबार आधा झण्डा झुकाइने

काठमाण्डु टुडे २०८१ साउन ९ गते २०:०२ मा प्रकाशित

काठमाण्डु, ९ साउन– सरकारले सौर्य एयरलाइन्सको जहाज दुर्घटना छानबिन गर्न समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार साँझ बसेको आकस्मिक बैठकले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमनको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिको सदस्यहरुमा नेपाल वायुसेवा निगमका क्याप्टेन दिपुराज ज्वारचन, पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक डा. सुदीप भट्टराई, नागरिक उड्डयन प्राधिकरणका कन्ट्रोल अफिसर मुकेश डंगोल र श्री एयरलाइन्सका सञ्जय अधिकारी छन् ।

समितिलाई घटना अध्ययन गरी ४५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । सरकारले घटनाको शोकमा बिहीबार एक दिन देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने समेत निर्णय गरेको छ ।

त्रिभुवन विमानस्थलबाट पोखरा उडेको सौर्य एयरको नाइन–एन एएमईरसी आरजे–२०० कलसाइनको जहाज धावनमार्ग छाड्ने बित्तिकै दुर्घटनाग्रस्त भएको थियो । जहाजमा सवार को–पाइलटसहित १८ जनाको मृत्यु भएको थयो ।

१९ जना सवार रहेकामा क्याप्टेन मनिष शाक्य मात्र जिवित छन् । घाइते अवस्थामा उनको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us