उड्नेबित्तिकै जहाज दाहिनेतिर मोडिन गई दुर्घट: प्राधिकरण

काठमाण्डु टुडे २०८१ साउन ९ गते १३:३४ मा प्रकाशित

काठमाण्डु, ९ साउन– सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जानकारी दिएको छ ।

जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटना ग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरीएको छ । सीआरजे ७ (रजिस्ट्रेसन–९एनएएमई) जहाज बिहान ११ बजेर ११ मिनेट जाँदा काठमाण्डुको त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको थियो ।

दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा १८ जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ । यस्तै पाइलट मनिषरत्न शाक्य घाइते रहेको भन्दै प्राधिकरणले उपचारका लागि उनलाई काठमाण्डु मेडिकल कलेज पठाइएको जनाएको छ । विमानमा क्याप्टेन मनिषरत्न शाक्य (घाइते) र को–पाइलट सुशान्त कटुवाल रहेका थिए ।

सुशान्तको मृत्यु भएको छ । विमानमा सवार कर्मचारीहरू अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले,राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडाको पनि मृत्यु भएको छ । आरिफ भने यमनका विदेशी नागरिक रहेको प्रधिकरणले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us