एजेन्सी– सूर्यको सबैभन्दा नजिक पर्ने बुध ग्रहमा ठुलो मात्रामा हिरा रहेको तथ्य वैज्ञानिकहरूले पत्ता लगाएका छन । हालै गरिएको एक अध्ययनले बुध ग्रहको सतहको मुनि हिराको बाक्लो तह हुनसक्ने वैज्ञानिकहरूले बताएका छन । लाइभ साइन्सले प्रकाशित गरेको रिपोर्टमा यस विषयमा जानकारी दिइएको छ ।
चीनको बेइजिंगस्थित सेन्टर फर हाइ प्रेसर साइन्स एण्ड टेक्नोलोजी रिसर्चका वैज्ञानिक तथा शोधका सह लेखक यानहाओ लिनका अनुसार बुध ग्रहको अत्यधिक उच्च कार्वन सामग्रीले यो ग्रहको सतहमुनि केही खास रहेको रहस्य बताएका छन । बुध ग्रहमा एक चुम्बकीय क्षेत्र छ, यद्यपि यो पृथ्वीको तुलनामा निकै कमजोर रहेको उनले बताएका छन ।
स्मरण रहोस् नासाको मेसेन्जर अन्तरिक्षयानले समेत आफ्नो अध्ययनका क्रममा बुध ग्रहको सतहमा असामान्य रुपले काला क्षेत्रहरु पत्ता लगाएको थियो । त्यसलाई ग्राफाइटको रुपमा पहिचान गरिएको थियो । नेचर कम्युनिकेसन्स पत्रिकामा प्रकाशित शोधमा बुध ग्रहको संरचना तथा असामान्य चुम्बकीय क्षेत्रका बारेमा प्रकाश गरीएको छ ।
ग्रहहरूको निर्माण सम्भवतः निकै तातो लाभाको महासागर चिसिएर बनेको हो । यही प्रकारले अन्य स्थलीय ग्रहहरूको विकास भएको वैज्ञानिकहरुले बताएका छन । बुध ग्रह सिलिकेट र कार्बनले भरिएको हुनसक्ने अनुमान वैज्ञानिकहरुको रहेको छ । ग्रहको बाहिरी पत्र तथा मध्यमण्डलको रुपमा रहेको म्यान्टलको निर्माणचाहिं म्याग्मा पदार्थ क्रिस्टलमा परिणत हुँदा बनेको हो । जबकि धातुहरू यसभित्र पहिले नै जमेर एक केन्द्रीय कोरको निर्माण भयो ।
यसअघि वैज्ञानिकहरूले मध्यमण्डलमा तापमान तथा चापका कारण कार्वन ग्राफाइटमा परिणत हुने तथ्य मान्दै आएका थिए । म्यान्टल अर्थात् मध्यमण्डल भन्दा हलुका भएका कारणले गर्दा यो सतहमा तैरिन्छ । यद्यपि सन् २०१९ मा भएको एक अध्ययनले चाहिं बुध ग्रहको म्यान्टल यसअघि अनुमान गरिएभन्दा ८० किलोमिटर गहिरो हुनसक्ने देखायो । जसका कारण मध्यमण्डल तथा केन्द्रमण्डलको सीमामा तापमान तथा चापमा निकै धेरै वृद्धि हुन्छ ।
परिणाम स्वरुप यस्तो स्थिति पैदा हुन्छ जहाँ कार्बन तत्व हिरामा क्रिस्टलीकृत हुन्छ । बेल्जियम तथा चीनका शोधकर्ताहरुको एक टिमले यही सम्भावनाको खोजी गर्नका लागि कार्बन, सिलिका र फलामको प्रयोग गरी रासायनिक मिश्रण तयार पारे । शोधकर्ताहरुले उक्त मिश्रणमा फरक–फरक घनत्वको आइरन सल्फाइड हालिदिए ।त्यसपछि मल्टिपल एनभिल प्रेसको प्रयोग गरी रासायनिक मिश्रणलाई ७ गिगापास्कलको दबाब दिए ।
चापको यो मात्रा भनेको समुद्री सतहमा पृथ्वीको वायुमण्डलीय चापभन्दा ७० हजार गुणा धेरै हो । यो विषम परिस्थिति बुध ग्रहको भित्री भागमा पाइने अवस्थालाई दर्शाउँछ । शोधकर्ताहरुले बुध ग्रहको कोर र म्यान्टलको सीमा नजिक तापमान तथा चापको सटीक मापनका लागि कम्प्युटर मोडेलको प्रयोग गरेका थिए ।