काठमाण्डु, ८ साउन– पहरीले बालिकालाई बेचबिखन गरेको आरोपमा एक युवक पक्राउ गरेको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले काभ्रेको चौरीदेउराली गाउँपालिका–१ का २० वर्षीय कुशल खरेललाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
खरेल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ मा रहेको सिन्धुली होटल ढिडो सर्भिस एण्ड गेस्टहाउसका सञ्चालकमध्ये एक रहेको पाइएको ब्यूरोका एसपी तथा प्रवक्ता गौतम मिश्रले जानकारी दिएका छन ।
उनी नेपाली काउन्टडाउन युट्युब च्यानलका सञ्चालक रहेको पनि पाइएको प्रहरीले जानकारी दिएको छ । नाबालिकालाई होटलमा वेटरको काम भनेर जबर्जस्ती यौनकार्यमा लगाउने गरेको पाइएको एसपी गौतमले जानकारी दिएका छन ।
यसअघि उक्त होटलबाटै २४ असारमा ब्यूरोको टोलीले बीरबहादुर सिन्तान र सुबिलाल सिन्तानलाई पक्राउ गरेको थियो । तर खरेल भने फरार हुँदै आएका थिए । खरेललाई मंगलबार बत्तिसपुतलीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।