काठमाण्डु, ८ साउन– पूर्वमन्त्री एवं जनता समाजवादी पार्टीका सांसद वीरेन्द्र महतोले छोराको प्रमाणपत्रको समकक्षता लिन ५ हजार रुपैयाँ घुस दिएको प्रकरण छानबिनका लागि सरकारले समिति गठन गरेको छ ।
मन्त्रालयका प्रवक्ता सहसचिव केशवप्रसाद दाहालले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार उक्र प्रकरण छानबिन गर्न समिति बनाएको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशकको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए ।
उनका अनुसार समितिलाई एक साताभित्र छानबिन गरी प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा महतोले दिनभर कुर्दा पनि कर्मचारीले काम नगरिदिएपछि पाठ्यक्रम विकास केन्द्रबाट छोराको समकक्षताको प्रमाणपत्र लिन बिचौलियालाई ५ हजार रुपैयाँ घूस खुवाएको अभिव्यक्ति दिएका थिए ।
‘पाठ्यक्रम विकास केन्द्रबाट जारी हुने समकक्षताको प्रमाणपत्र प्रदान गर्दा एक गरिएको काम कारबाहीका सम्बन्धमा उठाइएको विषयमा समकक्षताको प्रमाणपत्र लिँदा अपनाउनुपर्ने प्रक्रिया, सोमा लाग्ने दस्तुर लगायतका विषयवस्तुका सम्बन्धमा आवश्यक छानबिन गर्न सात दिनको सुझावसहितको प्रतिवेदन पेश गर्न शिक्षा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशकको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको,’ दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।