कार्कीको सचिवालयले भन्योः सचिवलाई शौचालयमा थुन्छु भनेको होइन, कमिशन मागेपछि सचेत गराइएको हो

काठमाण्डु टुडे २०८१ साउन ८ गते १९:३८ मा प्रकाशित

काठमाण्डु, ७ साउन– कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले सेवाग्राहीबाट कमिशन मागेका कारण सचेत गराइएको बताएका छन् ।

कार्कीको सचिवालयले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै विराट गोल्डकपको २५ लाख रकम निकाशा गर्न कमिशन मागेको आरोप लगाएको हो । भट्टराईले सोमबार साँझ आफूलाई टेलिफोन गरी कुटपिट गर्ने र शौचालयमा थुन्ने धम्की दिएको भन्दै कार्कीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए ।

कार्कीका स्वकीय सचिव दिवस राजवंशीद्वारा जारी विज्ञप्तिमा आफैं कमिशन माग्ने र कार्कीविरूद्ध अनर्गल प्रचार गर्दै हिंडेकाले भट्टराईलाई सचेत गराइएको उल्लेख छ । ‘पूर्वमुख्यमन्त्री कार्कीज्यूको कार्यकालमा विराटनगरमा सम्पन्न विराट गोल्डकप र कोशी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता लगायतका खेलकुद गतिविधिको भुक्तानीका लागि बजेट रकमान्तर गराई मन्त्रिपरिषद्को निर्णय गरी भुक्तानी दिने तयारी सचिवज्यूले स्वयं गर्नुभएको अवगत गराउन चाहन्छु’, विज्ञप्तिमा भनिएको छ, ‘सचिवज्यूले रकम भुक्तानीको मन्त्रिपरिषद् निर्णयका लागि टिप्पणी उठाएर अर्थ मन्त्रालयको सहमतिसमेत लिए । त्यसपछि सचिव भट्टराईले खेलकुद क्षेत्रका लागि रकमान्तर भएर आएको एक करोड ६६ लाख रकमबाट मुख्यमन्त्रीको नाममा समेत सेवाग्राहीबाट कमिशन मागेका थिए । तर कमिशन रकम हात नपरेपछि सचिव भट्टराई मन्त्रिपरिषद्मा प्रस्ताव लग्न छाडेर काठमाण्डु जानुभएको र लामो समय विदामा बसेको अहिले खेलकुद गतिविधिमा संलग्नहरूले गुनासो गरिरहनुभएको अवगत गराउन चाहन्छु ।’

त्यही बीचमा कार्की मुख्यमन्त्रीबाट हटेको तर विराट गोल्ड कप, क्रिकेट आयोजक समिति लगायतलाई सचिव भट्टराईले पूर्वमुख्यमन्त्रीज्यूले माग्नु भएको कमिशन रकम नदिनुभएकाले बजेट निकास नभएको भन्दै बदनाम गराउने मनसायले अनर्गल कूप्रचार गराइरहेको सूचना प्राप्त भएपछि पूर्वमुख्यमन्त्री कार्कीले भट्टराईलाई फोन गरेर सचेत गराएको उल्लेख छ ।

राजवंशीले इमानदारितापूर्वक कर्तव्यनिष्ठ भएर काम गर्ने सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई हतोत्साहित हुने गरी सञ्चार माध्यममा आएको समाचारमा कुनै सत्यता नभएको दाबी गर्दै कर्मचारी हकहितका लागि र निर्भयपूर्वक काम गर्ने वातावरण बनाइराख्न प्रतिबद्ध रहेको बताएको छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us