बागमतीको मुख्यमन्त्रीमा लामा नियुक्त

काठमाण्डु टुडे २०८१ साउन ८ गते १७:४३ मा प्रकाशित

काठमाण्डु, ८ साउन– बागमती प्रदेशको मुख्यमन्त्रीमा बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामा नियुक्त भएका छन् । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई नेपालको संविधानको धारा १६८ (२) अनुसार मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

लामाले आजै कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । प्रदेश प्रमुख शर्माले आज मंगलबार ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आइतबार आह्वान गरेका थिए ।

गएको निर्वाचनमा नुवाकोट २ को (ख) बाट निर्वाचित भएका लामा बागमतीको पाँचौं मुख्यमन्त्री हुन् । उनको भोलि बुधवार ११ बजे प्रदेश प्रमुख कार्यालयमा शपथ हुनेछ ।

लामाले भोलि नै कांग्रेसका ६ र एमालेका ६ मन्त्रीसहित १३ सदस्यीय मन्त्रीपरिषदलाई एकै पटक पूर्णता दिने तयारी गरेको कांग्रेसका प्रमुख सचेतक गोविन्द लम्सालले जानकारी दिए । लामा मुख्यमन्त्री बनेसँगै नेपाली कांग्रेसले बागमती सरकारको पहिलो पटक नेतृत्व गर्ने अवसर पाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us