प्रेस स्वतन्त्रताको सीमा निर्धारण गर्नुपर्छ: सञ्चार मन्त्री गुरुङ

काठमाण्डु टुडे २०८१ साउन ८ गते १६:३० मा प्रकाशित

काठमाण्डु, ८ साउन– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रेस स्वतन्त्रताको सीमा निर्धारण हुनुपर्ने बताएका छन । आज मंगलबारको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन । मन्त्री गुरुङले सीमा भित्र रहेर प्रेस र न्यायपालिकाले कार्य सम्पादन गर्नुपर्ने पनि बताएका छन ।

उनले सीमा भन्दा बाहिर केहि नरहेको भन्दै लोकतन्त्रको पनि सीमा रहेको बताएका छन । उनले आवश्यक भन्दा बढी लोकतन्त्रको उपयोग गर्दा अराजकता जन्मने दाबी गरेका छन । प्रेसलाई छुनै हुँदैन भन्ने धारणाले विधेयक निर्माण गर्न नहुने उनले बताएका छन । मन्त्री गुरुङले प्रेस स्वतन्त्रता सँगै मर्यादित पनि हुनुपर्ने पनि बताएका छन ।

समितिको बैठकमा बोल्दै नेपाली कांग्रेस राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले वर्तमान संविधानले पूर्ण प्रेस स्वतन्त्रता दिएको भन्दै प्रेस स्वतन्त्रतालाई थिच्ने नभई प्रोत्साहन गर्नेगरी विधेयक आउनुपर्ने बताए ।

उनले सरकारको तर्फबाट मिडिया काउन्सिल विधेयक, २०८० का सम्बन्धमा आधिकारिक धारणा आएपछि मात्रै दफावार छलफल गर्न सुझाव दिएका छन । समितिको बैठकमा नेकपा माओवादी केन्द्रका राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले प्रेस स्वतन्त्रताको अधिकार नियन्त्रण र कमजोर गर्नेगरी विधेयक ल्याउन नहुने बताए ।

उनले सरकारले आफ्नो तर्फबाट विधेयकबारे आधिकारिक धारणा आएपछि मात्रै दफावार छलफल गर्न उचित हुने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us