काठमाण्डु, ८ साउन– प्रहरीले नाबालिकालाई सामाजिक सञ्जाल फेसबुकमा साथी बनाई अश्लील फोटो तथा भिडियो पठाएर सोही अनुरूपको क्रियाकलाप गर्न दबाब दिएको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहटको देवाही गोनाही नगरपालिका–१ घर भई हाल काठमाण्डु– २८ बागबजार बस्ने जेएच अजवान रहेको प्रहरीले जानकारी दिएको छ ।
आफूले भनेको नमाने सामाजिक सञ्जालबाट तस्बिर सार्वजनिक गरी दिन्छु भनी चरित्र हत्या गरेको भन्दै पीडित नाबालिकाकी आमाले साइबर ब्युरोमा निवेदन दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
निजलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाण्डु जिल्ला अदालतबाट दिन पाँच म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक दीपक राज अवस्थीले जानकारी दिएका छन ।