राज्यमन्त्री हत्या प्रकरणः जग्गा विवाद मिलाइदिन भन्दै राति ३ जना घरमा आएका थिए

काठमाण्डु टुडे २०८१ साउन ७ गते १२:५० मा प्रकाशित

काठमाण्डु, ७ साउन– सर्लाहीमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको राति उनको घरमा तीन जना मान्छे आएको खुलेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जानकारी दिएका छन ।

सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ स्थित आफ्नै घरमा हत्या भएका रायको घरमा राति साढे ९ बजेतिर तीन जनाको समूह आएको अनुसन्धानबाट खुलेको एक प्रहरी अधिकृतले जानकारी दिएका छन ।

राय राति श्राद्धमा गएर राति साढे ८ बजेतिर आफ्नो घरमा आएका थिए । त्यसको करिब १ घण्टापछि तीन जनाको मान्छेको समूह उनको घरमा आएको खुलेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

राय र उनको घरमा अर्का एकजना काम गर्ने व्यक्ति राम उदेन राय गरी दुई जना बस्दै आएका थिए । राति साढे ९ बजेतिर आएका तीन जनाले हाम्रो जग्गा विवाद कहिले मिलाइदिने भन्दै पूर्वराज्यमन्त्री रायलाई सोधेका थिए ।

हाम्रो जग्गा विवाद कहिले मिलाइदिने भनेकाले राति आएका तीन जनाबीच जग्गा विवादको समस्या रहेको जस्तो बुझिएको अनुसन्धान अधिकृतले जानकारी दिएका छन ।

जवाफमा ८० वर्षीय पूर्वराज्यमन्त्री रायले मिलाउँला नि भनेर जवाफ दिएको उनकै घरमा काम गर्न बसेका राम उदेनले बताएको प्रहरी स्रोतले बतायो ।

त्यसपछि आफूले तीन जनालाई पानी समेत खुवाएको राम उदनेले प्रहरी समक्ष बताएका छन् । पूर्वराज्यमन्त्री रायकै घरमा सुत्ने बताएपछि राम उदेनलाई अर्कै कोठामा सुत्न पठाइएको उनले जानकारी दिए ।

जग्गा विवाद मिलाइदिन भन्दै आएका तीन जना र पूर्वराज्यमन्त्री गरी चारजना गफ गरिरहेको र आफू सुतेको हाल प्रहरी नियन्त्रणमा रहेका राम उदेनले बताएका छन् ।

राति पिसाब फेर्न उठ्ने बेलामा भने पूर्वराज्यमन्त्री सुतेको कोठाको ढोका खुल्लै देखेपछि टर्च बालेर हेर्दा रक्ताम्य अवस्थामा ढलेको देखेको राम उदेनले बयानमा भनेका छन् ।

मृत अवस्थामा पूर्वराज्यमन्त्री रायलाई देखेपछि आफूले तत्कालै आफन्तलाई खबर गरेको उनको भनाइ छ । अहिले राम उदेनमाथि सोधपुछ भइरहेको मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेलले जानकारी दिए ।

उनका अनुसार राति घरमा ३ जनाको समूहमा आएका व्यक्तिबाट हत्या भएको हुनसक्ने आशंका गरिएको छ । रायलाई घरेलु हतियार प्रहार गरेर हत्या गरेको जस्तो देखिएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us