काठमाण्डु, ७ साउन– सर्लाहीमा पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । सर्लाहीको चन्द्रपुर गाउँपालिका–१ रतनपुरस्थित घरको कोठाभित्र ८० वर्षीय रायको आइतबार राति हत्या भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जानकारी दिएको छ ।
उनको हत्या भएको खबर आइतबार राति १ बजे प्रहरीसमक्ष पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन । घटनास्थल पुगेको प्रहरीले उनलाई कोठाभित्र मृत अवस्थामा भेटाएको थियो।
रायको टाउको धारिलो हतियार प्रहार भएको देखिएको छ । उनको टाउकोको बायाँ भागमा चोट लागेको डिएसपी श्रेष्ठले जानकारी दिएका छन । सोमबार बिहान प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुख पनि घटनास्थल पुगेका छन् ।
अनुसन्धानका लागि तालिमप्राप्त कुकर पनि परिचालन गरिएको डिएसपी श्रेष्ठले जानकारी दिएका छन । चन्द्रपुर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोका अनुसार पूर्व राज्यमन्त्री राय आइतबार मात्रै रतनपुर आएका थिए ।
उनी परिवारसहित मलंगवा बस्ने गरेका छन । रतनपुरमा भएको त्यो घर पुरानो हो। त्यहाँ उनको खेतीपाती पनि छ । खेतीपाती हेर्न उनी रतनपुर आइरहेका हुन्छन् । त्यहाँ खाना बनाउनका लागि भनेर एकजना भान्से पनि राखेका छन् ।
अध्यक्ष महतोका अनुसार आइतबार राति खाना खाइसकेपछि तीन जना व्यक्तिहरू रायलाई भेट्न आएको ती भान्सेले बताएका छन्। रायको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको छ। राय ३० वर्षअघि राप्रपाबाट राज्यमन्त्री भएका थिए । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।