वर्तमान गठबन्धन कुन काँध नरम छ भन्दै विकल्प खोज्ने प्रवृत्तिको उपज होः गोकर्ण विष्ट

काठमाण्डु टुडे २०८१ साउन ६ गते १६:४० मा प्रकाशित

काठमाण्डु, ६ साउन– एमालेका सचिव गोकर्ण विष्टले वर्तमान सरकार कुन काँध नरम छ भन्दै विकल्प खोज्ने प्रवृत्तिको उपज भएको दाबी गरेका छन । आज आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलेको पक्षमा समर्थन गर्दै उनले यस्तो बताएका हुन ।

सचिव विष्टले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बारम्बार सत्ताका लागि काँध फेर्ने प्रवृत्तिका कारण नयाँ गठबन्धन बनेको पनि बताएका छन । उनले एमाले र कांग्रेसले काँध थापिरहँदा पनि नरम काँध खोज्ने प्रवृत्तिले उपज नै नयाँ गठबन्धन भएको पनि बताएका छन । सचिव विष्टले बाघको छालामा स्यालको रजाइँ गर्ने कुराले कोल्टो फेरेको पनि बताएका छन । उनले वर्तमान गठबन्धन कतिपयको लागि चार दिनको चाँदनी फेरि अँधेरी भएको हुनसक्ने समेत बताएका छन ।

उनले अहिलेको नेपाली राजनीतिमा आफू सरकारमा हुँदा मात्र लोकतन्त्र जोगिने र आफू बाहिर हुँदा खतरामा हुने भन्ने मान्यता स्थापित हुँदै गएको बताएका छन । उनले पूर्वप्रधानमन्त्री प्रचण्डले सरकारबाट बाहिरिने बित्तिकै लोकतन्त्र खतरामा परेको भन्दै गरेको प्रचारमा कुनै तर्क नरहेको दाबी गरेका छन ।

उनले आफू सरकारमा हुँदा लोकतन्त्र जोगिने र आफू सत्ता बाहिर हुँदा लोकतन्त्र खतरामा पर्ने के लोकतन्त्र कुनै दलले निर्धारण गर्ने हो भन्दै प्रश्न गरेका छन ।

सचिव विष्टले कांग्रेस–एमाले गठबन्धनले लुकेर संविधान संशोधन गर्न लागेको भन्दै गरेको प्रचारमा कुनै सत्यता नभएको दाबी गरे । उनले संविधान संशोधन लुकेर नगरिने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us