काठमाण्डु, ६ साउन– विराटनगर–३ मोर्डन एरा स्कुल अगाडिबाट दिनदहाडै लुटपाट भएको छ । निर्माण व्यवसायी विवेक कर्णको अफिसबाट आज दिउँसो ३ बजे १४ लाख ४७ हजार रुपैयाँ लुटपाट भएको उनले जानकारी दिएका छन । मोटरसाइकलमा आएका दुई जना लुटेराले ब्यागमा राखिएको रकम लुटेर फरार भएको उनले जानकारी दिए ।
उद्योगहरूमा कामदार पठाउने पाथीभरा म्यानपावर सप्लायर्सबाट रकम लुटपाट भएको उनले जानकारी दिए । उनले भने, ‘लेभरको पेमेन्ट दिनको लागि विराटनगरको कञ्चनबारीस्थित एभरेस्ट बैंकबाट दिउँसो मेरो ज्वाइँ अमरेशकुमार कर्णले १४ लाख ४७ हजार रुपैयाँ लिएर अफिसमा आइपुग्नुभएको थियो । मोटरसाइकलमा आएका दुई जनामध्ये एक जना फोनमा बोल्दै भित्र आए ।
ब्यागमा राखिएको रकम लिएर फरार भए । त्यसपछि हामीले पनि लखेट्यौँ । मोटरसाइकलमा बसेर लुटेरा आयल निगम तिर हुँदै फरार भए,’ कर्णले भने, ‘प्रहरीमा पनि जानकारी गराइसके छ । अहिलेसम्म प्रहरी पनि आइपुगेको छैन ।’ यता मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले अहिलेसम्म प्रहरीमा खबर नआएको जानकारी दिएका छन ।