विश्वासको मतमाथिको छलफलको क्रममा समेत संसद‍्मा बसेनन् केपी ओली

काठमाण्डु टुडे २०८१ साउन ६ गते १६:१३ मा प्रकाशित

काठमाण्डु, ६ साउन– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफललाई महत्त्व नदिएको पाइएको छ ।

आफैँले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफल जारी रहँदा ओली बैठकस्थलबाट बाहिरिएका छन । आज आइतबार प्रतिनिधिसभामा आफ्नो प्रस्ताव पेस भएपनि केही बेर बैठकमा बसेका उनी माओवादी केन्द्रका नेता वर्षमान पुनले धारणा राख्ने बेलामा बाहिरिएका हुन ।

पुनले बोल्ने पुरा अवधिसम्म नआएका उनी त्यसपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बोल्ने पालोमा पनि आएनन् । लिङ्देनले प्रधानमन्त्रीलाई बैठकमा नदेखेपछि व्यङ्ग्य गर्न भ्याइहाले ।

‘प्रधानमन्त्रीजीले कतैबाट सुनिराख्नु भएकै होला, बधाई दिन चाहन्छु’, उनले बैठकमा भने । उनले केपी ओली प्रधानमन्त्री बन्दा स्वाभाविक रूपमा आफू खुसी हुने पनि बताए । उनले गएको चुनावमा तालमेल गरेको पनि स्मरण गरे । तर, विश्वासको मत भने आफूहरुले नदिने लिङ्देनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us