ओलीको नेतृत्वमा मुलुकले उन्नतिको बाटो समात्नेछ: देउवा

काठमाण्डु टुडे २०८१ साउन ६ गते १५:२६ मा प्रकाशित

काठमाण्डु, ६ साउन– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा मुलुकले उन्नतीको बाटो समात्ने दाबी गरेका छन ।

आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै सभापति देउवाले यस्तो बताएका हुन ।

उनले ओली मिहिनेती, अध्ययनशील र अनुभवी भएकाले उनको नेतृत्वको सरकारले मुलुकलाई उन्नतीतर्फ लैजाने बताएका हुन् । उनले भने, ‘सम्माननीय प्रधानमन्त्री अत्यन्त मिहिनेती अध्ययनशील र अनुभवी हुनुहुन्छ, उहाँको मन्त्रिपरिषदमा रहेका साथीहरु योग्य र सक्षम हुनुहुन्छ । उहाँहरुको नेतृत्वमा मुलुकले उन्नतीको बाटो समात्नेछ भन्ने विश्वास लिएको छु ।

मुलुकको आर्थिक शिथिलतालाई चिर्दै अर्थतन्त्र चलायमान बनाउन स्थिर सरकार आवश्यक परेको देउवाले बताएका छन । राजनीतिलाई स्थिरताको बाटोमा उन्मुख गराउन अहिलेको सरकार गठन भएको भन्दै देउवाले त्यो लक्ष्यमा सरकार सफल हुने पनि बताएका छन । १७ असारमा कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिप्रति कांग्रेस दृढ रहने भन्दै देउवाले एमाले पनि दृढ रहने विश्वास व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us