जोसुकै भए पनि सहकारी ठगलाई कारबाही गर्छौं: प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ साउन ६ गते १४:४५ मा प्रकाशित

काठमाण्डु, ६ साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जोसुकै भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्ने घोषणा गरेका छन ।

आज (आइतबार) बसेको प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने प्रस्ताव पेश गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले सुशासन पनि सरकारको पाँच प्राथमिकतामध्ये एक भएको बताएका छन ।

उनले भने, ‘एउटा खुलस्तै भन्न चाहन्छु दुनियाँका अगाडि, दुनियाँले सुन्ने गरी भन्न चाहन्छु, भ्रष्टाचार गर्दैनौं, भ्रष्टाचार सहदैनौं, कसैलाई भ्रष्टाचार गर्न दिन्नौं ।’ भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएका विषयको छानबिन तथा अनुसन्धान गर्ने उनले बताएका छन । भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेछ भन्ने विश्वास समाजमा स्थापित गराउनु सरकारको प्राथमिकता भएको भन्दै उनले भने, ‘यसमा ढुक्क भए हुन्छ, कुनै कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारी उपर कानुन कारबाही अगाडि बढाउँछौं ।’

प्रधानमन्त्री ओलीले अगाडि भने, ‘सहकारी पीडितका सम्बन्धमा उचित निर्णय लिने छौं । जोसुकै भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्नेछौं ।’

सुशासनका लागि स्टन्ट होइन, सही इन्टेन्ट चाहिने बताउँदै उनले भने, ‘यस सरकारले आफू अग्लो हुन अरुलाई होचो बनाउने कोसिस गर्ने छैन । आफू गोरो देखिन अर्कोको अनुहारमा हिलो छ्याप्ने काम पनि गर्दैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us