स्वस्थ र सन्तुलित पोषणयुक्त खानाको अवधारणा व्यापक बनाउनेछौँः प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ साउन ६ गते १४:३९ मा प्रकाशित

काठमाण्डु, ६ साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पोषणयुक्त खानाको अभियानलाई व्यापक बनाउने बताएका छन । आज आइतबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने क्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले सबै पालिकामा खाद्य भण्डार बनाउने बताएका छन ।

प्रधानमन्त्री ओलीले भने, ‘खानपिनको बानीमा परिवर्तन गरी स्वस्थ र सन्तुलित पोषणयुक्त खानाको अवधारणा व्यापक बनाउनेछौँ । यसका लागि कृषि तथा पशुपक्षी मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय परिचालित हुनेछ ।

सबै पालिकामा खाद्य भण्डार बनाउन सबै पालिकासँग समन्वय र सहकार्य गर्नेछौँ । निरपेक्ष गरिबी हटाउन योजना आयोगको नेतृत्वमा सम्बन्धित मन्त्रालयको सहकार्यमा एक संयन्त्र तयार पार्नेछौँ र त्यसको सुझावका आधारमा एक कार्यक्रम तयार पार्नेछौँ ।’ उनले जुनसुकै भूभागमा जन्मिएको भएपनि बालबालिकालाई भोकै मर्न नदिने दाबी गरे ।

ओलीले अहिले स्कुटरको बिक्री बढेको र बजारको ट्रेन्डको आधारमा नीति बनाउने उल्लेख गरेका छन । उनले भने,‘मलाई हिजोआज महसुस हुन्छ, वैदेशिक रोजगारीले अर्थतन्त्रको संरचनामा पनि व्यापक परिवर्तन ल्याएको छ । केही वर्षअघिसम्म नेपालमा धेरै मोटरसाइकल बिक्री हुन्थ्यो तर हिजोआज स्कुटरको विक्री बढेको भन्ने समाचारहरू आएका छन् ।

कुखुराको मासुमा खपत कम भएको समाचार केही अघि पढेको थिएँ । ट्रेन्डहरुमा केही परिवर्तन भएको छ । वैदेशिक रोजगारीका कारण उपभोग गर्ने तरिका र बजारको मागमा परिवर्तन आएको छ । तर तथ्याङ्कको अभावमा निजी क्षेत्र र सरकारी निकाय दुवैले यसको प्रभाव कहाँ कस्तो परेको छ बुझ्न सकेका छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us