देशप्रति जनताको भरोसा टुटेको देख्दा डर लाग्यो: प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ साउन ६ गते १४:२६ मा प्रकाशित

काठमाण्डु, ६ साउन– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो देश निराशामा रहेको बताएका छन । आज आइतबार प्रतिनिधिसभा बैठकमा आइतबार विश्वासको मत माग्दै ओलीले यस्तो बताएका हुन ।

उनले ०४६ सालपछिको पुस्ताले यति चरम निराशा पहिलो पटक देखेको बताएका छन । अर्थतन्त्र डामाडोल अवस्थामा रहेको भन्दै उनले भने, ‘आयात र निर्यात घटेको छ ।

तानतुन गर्दा पनि लक्ष्यअनुसार ७६ प्रतिशत मात्र राजश्व उठेको छ । यसले देशको अर्थतन्त्रमा कति ठूलो समस्या सिर्जना भएको छ भन्ने देखाउछ ।’ उनले बैंकहरुमा पैसा थुप्रिएको, ब्याजदर पनि न्यून रहेको अवस्थामा पनि लगानी गर्न व्यवसायीहरु तयार नभएको बताएका छन । ‘सरकार स्टन्टबाज भयो, सरकार थुन्ने अनि सुन्ने भयो भन्ने गुनासो बोेकेर धाउँदैधाउँदै काम गर्न पाएनन्’ ओलीले भने ।

विकास निर्माण लथालिंग भएको र भ्रष्टाचारले सीमा नाघेको भन्दै उनले भने, ‘मलाई सबभन्दा डर लागेको कुरा देशप्रति आम जनताको भरोसा टुटेको स्थिति । तिनको मनोबल नराम्ररी गिरेको अवस्था ।’निराशा हटाउन, आशाको सञ्चार गर्न र देशलाई तीव्र आर्थिक दिशामा लैजान अहिलेको सरकार बनेको उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us