काठमाण्डु, ६ साउन– एमालेका सांसद दामोदर पौडेल वैरागीले उपसभामुख इन्दिरा रानाको विज्ञप्तिले मानव बेचबिखनमा लेनदेन छ भन्ने प्रस्ट पारेको आरोप लगाउँदै यस प्रकारको उपसभामुख नचाहिएको बताएका छन । आज आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन ।
उनले संवैधानिक परिषद्को यस्तो सदस्य नचाहिएको पनि बताएका छन । उनले भने, ‘देशको चौथो दल हौँ, युवा हौँ, पुरानाले गरेनन् भनेर अङ्ग्रेजीमा भाषण छाँट्ने र तथ्य ल्याएर यहाँ बजार्नेहरूको विज्ञप्ति पढियो, लेनदेन छ भन्ने उहाँहरूको विज्ञप्तिमा आयो । कसको लेनदेन छ ? यो कुरा चाहियो ।
हामीलाई यस्तो उपसभामुख चाहिएको होइन, यस्तो संवैधानिक परिषद्को सदस्य चाहिएको होइन । जसले मान्छेलाई अनेक नाउमा लेटर प्याडको प्रयोग गरेर, अनेक गरेर मान्छे बेच्ने ? उहाँलाई करुणा जाग्यो । इजरायलमा मान्छे मर्दा, इराकमा मान्छे मर्दा विज्ञप्ति आयो ?’उनले आफूले ४० वर्ष राजनीतिक गरेर आएको बताउँदै उपसभामुख जस्ता धेरैलाई नेता बनाएर आएको बताएका छन ।
उनले छानबिन माग गर्दै संसद्ले उपसभामुखलाई नछोड्ने दाबी गरेका छन ।