काठमाण्डु, ६ साउन– एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरी लुम्बिनी प्रदेशका नयाँ मुख्यमन्त्री बन्ने पक्का भएको छ । माओवादीबाट मुख्यमन्त्री बनेका जोख बहादुर महरा पदमुक्त हुने निश्चित भएसँगै कांग्रेस र एमालेको गठबन्धन लीला गिरीलाई मुख्यमन्त्री बनाउन सहमत भएको स्रोतले जानकारी दिएको छ ।
दुई दलमा भएको सहमतिअनुसार एमालेको भागमा मुख्यमन्त्री परेसँगै गिरिलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिएका छन ।
प्रदेश प्रमुखबाट नयाँ सरकार गठनको आह्वान भएपछि गिरीलाई नियुक्तिको लागि कांग्रेस र एमालेले संयुक्त रूपमा दाबी पेस गर्ने उनले जानकारी दिएका छन । आइतबार दिउँसो १ बजेलाई आह्वान गरिएको प्रदेश सभा बैठक अझैसम्म सुरु भएको छैन । प्रदेशसभा सचिवालयले अब केही समय पछि बैठक सुरु हुने जनाएको छ ।