काठमाण्डु, ६ साउन– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अन्ततः राजीनामा दिने भएका छन् । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक रत्नप्रसाद ढकालले मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिने जानकारी दिएका छन ।
यसअघि अंकगणितीय प्रतिकूलताका बिच संसद् फेस गर्ने निर्णयमा पुगेका मुख्यमन्त्री जम्कट्टेलले मत विभाजनसहित विश्वासको मतको प्रक्रिया टुङ्गाउने तयारी गरेका थिए ।
‘मुख्यमन्त्रीज्यूले प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गर्नुहुन्छ,’ ढकालले भने । बागमती प्रदेशमा नयाँ सरकार गठन गर्ने उद्देश्य अनुसार असार २४ गते एमालेले माओवादी केन्द्रसँगको सत्ता साझेदारी त्यागेर सरकारबाट बाहिरिइसकेको छ । योसँगै माओवादी केन्द्रबाट मख्यमन्त्री बनेका शालिकराम जम्कट्टेल अल्पमतमा परेको छन् ।
केन्द्रमा नेकपा एमालेले कांग्रेससँगको साझेदारीमा सत्तारोहण गरिसकेको छ । सोही सहमतिअनुसार बागमती प्रदेश सरकारको भाग कांग्रेसको पक्षमा परेको छ । यता बागमती प्रदेशमा नेपाली कांग्रेसले संसदीय दलका नेता बहादुर सिं लामाको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको छ ।