काठमाण्डु, ६ साउन– केन्द्रमा काँग्रेस एमाले गठबन्धनको नेतृत्वमा सरकार बनेसंगै प्रदेशहरुको नेतृत्व पनि परिवर्तन हुँदै छ । यो सँगै बागमती प्रदेशमा नेपाली कांग्रेसले संसदीय दलका नेता बहादुर सिं लामाको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको छ । पार्टीको आइतबार बसेको बैठकले सर्वसम्मतले सो निर्णय गरेको हो ।
योसँगै प्रदेशमा उनी कांग्रेसबाट पहिलो मुख्यमन्त्री बन्ने पक्का भएको छ । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता साझेदारीको सहमति गरेसँगै बागमति प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति बनेको थियो । बागमती प्रदेशमा नयाँ सरकार गठन गर्ने उद्देश्य अनुसार असार २४ गते नेकपा एमालेले माओवादी केन्द्रसँगको सत्ता साझेदारी त्यागेर सरकारबाट बाहिरिइसकेको छ ।
योसँगै माओवादी केन्द्रबाट मख्यमन्त्री बनेका शालिकराम जम्कट्टेल अल्पमतमा छन् । प्रदेशमा सरकार चलाउने सम्बन्धमा तीन प्रदेशमा एमाले तीन प्रदेशमा काङ्ग्रेस र मधेस प्रदेशमा मधेस दलले नेतृत्व गर्ने सहमति भएका थिए । सोही अनुरूप बागमतीमा काङ्ग्रेसबाट लामा मुख्यमन्त्री बन्ने पक्का भएका छन् ।
यस्तो छ बागमती प्रदेशमा सत्ता समीकरणका लागि सांसदहरुको संख्यास
२०७४ को निर्वाचनमा तेस्रो शक्ति बनेको काँग्रेस यो पटक बागमतीको पहिलो दल हो । ३७ सांसद रहेको काँग्रेसलाई २७ सिट भएको एमालेले साथ दिँदा ११० सदस्यीय प्रदेशसभामा ६४ सिट हुन आउँछ । राप्रपा पनि सकारात्मक रहेको र हाम्रो नेपाली पार्टीले समेत साथ दिने अवस्थामा लामा ८९ सांसदको समर्थनमा मुख्यमन्त्री बन्नेछन् ।
एमालेबाट पहिलो मुख्यमन्त्री डोरमणि पौडेल र पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य भइसकेका छन् । एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेल मुख्यमन्त्री बनेको बागमतीमा पहिलो पटक प्रदेशमा बाहुल्य रहेको तामाङ समुदायका लामा मुख्यमन्त्री बन्न लागेका छन् ।
बागमतीमा तामाङ समुदायबाट लामा पहिलो पटक मुख्यमन्त्री बन्न लागेका हुन् । प्रदेशको कुल जनसङ्ख्याको २०।५४ प्रतिशत तामाङ रहेको यो प्रदेशमा तामाङ र नेवारी भाषालाई सरकारी कामकाजको भाषा बनाइएको छ ।
गत २०७९ को निर्वाचनमा नुवाकोटको प्रतिनीधिसभा २ को ख बाट निर्वाचित लामा काँग्रेस संसदीय दलको नेतामा चयन भएको थियो । काँग्रेस सभापति शेरबहादुर देउवा निकट लामा पार्टीभित्र सन्तुलनकारी नेताका रूपमा परिचित छन् ।