उपसभामुखको निष्कलंक उज्यालो छविमाथि गलत मनसायले प्रश्न उठाइयोः रास्वपा

काठमाण्डु टुडे २०८१ साउन ६ गते १०:५३ मा प्रकाशित

काठमाण्डु, ६ साउन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई पत्र लेखेको प्रकरणमा आर्थिक लेनदेन नभएको निस्कर्ष निकालेको छ ।

रास्वपाका कार्यबाहक प्रवक्ता एवं सहमहामन्त्री मनिष झाद्वारा जारी विज्ञप्तिमा आर्थिक लेनदेन भएको आधार नभेटिएको उल्लेख छ ।
भिसाका लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरु अध्यागमन विभागको रेकर्डमा देशबाहिर गएको नेदेखिएको तथा कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन नसकेको रास्वपाको तर्क छ ।

‘पार्टीले गरेको अनुसन्धानका क्रममा उपलब्ध तथ्य र प्रमाणले सञ्चार माध्यमहरुमा अतिरञ्जित रुपमा प्रस्तुत गरिएका सूचना सामग्रीहरुजस्तो कतै पनि भिसाको माग गरिएको वा आर्थिक लेनदेन भएको कुनै तथ्यगत आधार देखिँदैन,’ विज्ञप्तिमा भनिएको छ ।

विभिन्न कुटनीतिक निकाय वा जानकारहरुसँथ बुझ्दा धेरै राजनीतिक दलका नेताहरुले अन्तर्वार्ता मिति मात्र नभई भिसाका लागि लिखित वा मौखिक सिफारिस गर्ने गरेको अध्यास पाइएको विज्ञप्तिमा छ ।

आफ्ना सारा आम्दानी र सम्पत्ति निस्वार्थ समाजसेवामा लगाएकी उपसभाुमख विभिन्न प्रतिष्ठित राष्ट्रिय अन्तर्राष्ट्रिय पुुरस्कारले विभूषित रहेको समेत रास्वपाको भनाइ छ । निस्कलंक उज्यालो छविकै कारण रानालाई पार्टीले उपसभाभुखका सिफारिस गरेको दाबी झाले गरेका छन् ।

पार्टको छवि धुमिल पार्ने दूषित मनसायबाट छद्म रुपमा भइरहेका गलत प्रहारहरुबाट विचलित नभई रास्वपा सुशासन, सामाजिक न्याय र द्रूत आर्थिक विकासको मार्गमा मुलुकलाई अगाडि बढाउने प्रतिबद्धतामा अडिग रहेको विज्ञप्तिमा जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us