काठमाण्डु, ५ साउन– आम जनता पार्टीका अध्यक्ष प्रभु साहले भ्रष्टाचारीलाई जहाँ देख्यो त्यही जनकारबाही गर्न निर्देशन दिएका छन । उनले मुलुकमा दिनदिनै भ्रष्टाचार संस्थागत हुँदै गएकोले मुलुक समृद्ध हुन नसकेको दाबी गरेका छन ।
आजपा निकटको आइटी आर्मीको तेस्रो स्थापना दिवसको अवसरमा आज (शनिबार) काठमाण्डुमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका साहले यस्तो निर्देशन दिएका हुन् ।
उनले सरकारको मुख्य नेतृत्व नै भ्रष्टाचारमा लागेकोले कुनै पनि सरकारी निकायबाट भ्रष्टाचारीलाई कारबाहीको अपेक्षा गर्नु भनेको “गोरुबाट दूध पाउने कल्पना गरे जस्तै हो” भएको टिप्पणी उनको छ । उनले भने, ‘देशमा भ्रष्टाचार बढ्दै गएका कारण मुलुकमा विकास रोकिएको यथार्थ हामी सामु छ । नेपालको सम्पत्ति लुटेर दिन दहाडै विदेश लगिँदैछ ।
भ्रष्टाचारको काण्डै काण्डले देश बरबाद हुँदैछ । सरकारी निकायले भ्रष्टाचारीको अगाडी निरीह छ, केही गर्न सकिरहेको छैन । भ्रष्टाचारीलाई राज्यकै संरक्षण छ’ आजपा अध्यक्ष साहले भने, ‘यस्तो अवस्थामा हामी चुप लागेर बस्न मिल्दैन । हामीले मुलुकलाई समृद्ध बनाउन, सुशासन कायम गर्नका लागि भ्रष्टाचारीलाई जहाँ देख्यो त्यही जनकारबाही गर्न आवश्यक छ ।
आइटी आर्मीले त्यो कामको नेतृत्व गरोस् ।’गिरीबन्दु टी–स्टेट देखि लिएर ललिता निवास लगायतका ठाउँमा ठुला भनिएकाहरूकै संलग्नतामा भ्रष्टाचार भएको प्रमाणित भएको छ ।
तर त्यस्तालाई कारबाही गर्नुको साटो पुरस्कृत गर्ने अवस्थाको अन्त्य आवश्यक रहेको उनले बताए । सरकार, अख्तियार दुरुपयोग अनुसन्धानले भ्रष्टाचारीलाई कारबाही गर्न नसकेको बताउँदै साहले अहिले सरकारमै भ्रष्टहरूको बाहुल्यता भएको टिप्पणी गरे ।