युवाहरू खाडीमा काम गर्न जानु स्वाभाविक कुरा हो: महामन्त्री थापा

काठमाण्डु टुडे २०८१ साउन ५ गते १६:१० मा प्रकाशित

काठमाण्डु, ५ साउन– कांग्रेस महामन्त्री गगन थापाले युवाहरू वैदेशिक रोजगारीमा जाने कुरा स्वाभाविक भएको दाबी गरेका छन । आज शनिबार जय नेपाल फाउन्डेसनले आयोजना गरेको सोलुखुम्बु जिल्लाबाट एसईई उर्तीण विद्यार्थीहरुलाई सम्मान कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन ।

उनले युवाहरू वैदेशिक रोजगारी जाने अवस्था विगतमा कोरियामा पनि रहेको बताएका छन । उनले अहिले युवाहरू खाडी लगायतका विदेशमा गएर काम गर्ने कुरालाई अस्वाभाविक नमान्न आग्रह पनि गरेका छन ।

उनले विगतका कोरियनहरू जर्मनीको खानीहरूमा काम गर्न जानका लागि प्रतिस्पर्धा गर्ने गरेको बताएका छन । महामन्त्री थापाले भने, ‘कोरियामा नर्सिङ गरेका छोरीहरूले युरोपमा गएर काम गरे भने त्यो बेलामा सबैभन्दा ठुलो उपलब्धि मानिन्थ्यो । धेरै वर्ष अगाडिको कुरा हैन, यो वीपी कोइराला प्रधानमन्त्री भएको बेलाको सन्दर्भ हो यो ।

२०१५ साल सेरोफेरोको कुरा हो, त्यहाँबाट यहाँ आइपुगेको हो । प्रत्येक देशले यसरी अवसर पक्रिएका छन् ।’ उनले नेपाललाई अव अर्को अवसर आएको पनि बताएका छन ।

नेपाललाई अब ज्ञान अर्थतन्त्र, सूचना प्रविधिमा आधारित अर्थतन्त्रमा लैजानुपर्ने महामन्त्री थापाले बताएका छन । उनले भने, ‘सूचना प्रविधिका यति धेरै नयाँ उद्योग, यति धेरै व्यवसाय, यति धेरै अवसर सृजना भएको छ, नेपालले यसलाई छोप्न सक्यो भने १०–१५ वर्षमा हामी एउटा विकसित देशको रूपमा अगाडि जान्छौँ ।

यसलाई छोप्न सकेनौँ भने हामी जहाँको त्यही रहन्छौँ ।’ उनले त्यसलाई छोप्न गणित र अङ्ग्रेजी जानेको विद्यार्थी चाहिने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us