काठमाण्डु, ५ साउन– गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरीसँग आफ्नो पुरानो साइनो भएको बताएका छन । शुक्रबार सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय कार्यालय हलचोकमा निरीक्षणका लागि पुगेका गृहमन्त्री लेखकले यस्तो बताएका हुन ।
२३ वर्षअघि सशस्त्र प्रहरी बलको जन्म अध्यादेशबाट भएको स्मरण गर्दै लेखकले उक्त अध्यादेश संसदबाट पारित भएको बताए । सशस्त्र प्रहरी स्थापनाबारे अध्ययन गर्न स्वर्गीय सुवासचन्द्र नेम्वाङको नेतृत्वमा बनेको समितिमा कांग्रेसबाट सदस्यका रुपमा सहभागी भएर काम गरेको उनले बताएका छन ।
गृहमन्त्री लेखकले भने, ‘सशस्त्र प्रहरीको स्थापना भएको केही समयपछि देशमा द्वन्द सुरु हुँदा सशस्त्र प्रहरीको प्रमुख भूमिका मुख्य रह्यो । नेपालको सुरक्षा बलको शक्तिले शान्ति सम्झौता भयो ।
सबैभन्दा पछि जन्मेको संगठनले सबैभन्दा धैरे योगदान गर्यो ।’ सशस्त्र प्रहरी बलको सुदृढीकरण र वृद्धि विकासका लागि गृह मन्त्रालय साथमा रहने पनि उनले बताएका छन ।
उनले थपे, ‘ ‘राजश्व चुहावट रोक्न यहाँहरुको ठूलो योगदान छ । प्राकृतिक प्रकोप सशस्त्र प्रहरीको भूमिका प्रशंसा गर्न लायक छ । स्रोत र साधानको अभाव छ । मन्त्रालयले बढी भन्दा बढी स्रोत साधन व्यवस्था गर्न लागिपरेको छ । मित्र राष्ट्रका जिम्मेवार व्यक्तिसँग कुराकानी भएको छ,’ ।