त्रिशूलीमा बेपत्ता बस र यात्रु खोज्न भारतबाट आयो उद्धार टोली

काठमाण्डु टुडे २०८१ साउन ५ गते ९:३२ मा प्रकाशित

काठमाण्डु, ५ साउन– चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा भेलबाढीमा परी त्रिशूलीमा खसेको बस र यात्रुको खोजीका लागि भारतीय उद्धार टोली आएको छ ।

उद्धारमा सहयोगका लागि नेपालले अनुरोध गरेपछि भारतबाट १२ जनाको उद्धार टोली सिमलताल आएको स्रोतले जानकारी दिएको छ । उनीहरू गएराति साढे १२ बजे नेपालका लागि प्रस्थान गरेको र शनिबारदेखि सिमलतालमा बेपत्ता बस र यात्रुको खोजीमा खटिने गृहमन्त्रलायको विपद् महाशाखा प्रमुख भीष्मकुमार भूसालले जानकारी दिएका छन ।

असार २८ गते सिमलतालस्थित सिँदुरे खोलाको भेलबाढीमा परी त्रिशूलीमा खसेको दुइटा बस अझै फेला परेको छैन । दुई बसमा सवार ६५ यात्रुमध्ये तीन जना हामफालेर जोगिएका थिए। नदीमा बेपत्ता ६२ मध्ये अहिलेसम्म २३ यात्रुको शव भेटिएको छ। ३९ जना अझै बेपत्ता रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us