काठमाण्डु, ४ साउन– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ । प्रधानमन्त्री ओलीले आगामी ६ साउनमा विश्वास मत लिँदैछन् ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भने, ‘पार्टीले आधिकारिक निर्णय गरेको छैन, तर प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन पार्टी सकारात्मक छ ।’ उनले भोलि वा पर्सी संसदीय दलको बैठक बसेर यस बारेमा आधिकारिक निर्णय गर्ने बताए ।
उनले भने, ‘हामीले यो सरकारलाई बाहिरबाट समर्थन गरेका छौँ, विश्वासको मत पनि दिन्छौँ तर पार्टीमा यसको आधिकारिक निर्णय हुन्छ ।’ वर्तमान गठबन्धनलाई जसपा नेपालले समर्थन गरेपनि प्रदेशदेखि संघसम्म सरकार बाहिरनै रहेको छ ।
मधेश प्रदेशमा कांग्रेस–एमाले गठबन्धनबाट जनमत पार्टी नेतृत्वको सरकार रहेको छ । त्यो सरकारलाई जसपा नेपालले समर्थन गरेको छैन । संघीय सरकारलाई समर्थन रहेको भनिए पनि संसदीय दलबाट यसको आधिकारिक निर्णय आउन बाँकी रहेको छ ।