पदको गरिमामा आँच आउने काम गरेको छैन: उपसभामुख राना

काठमाण्डु टुडे २०८१ साउन ४ गते १६:४७ मा प्रकाशित

काठमाण्डु, ४ साउन– उपसभामुख इन्दिरा रानाले आफूले संघीय संसद् र उपसभामुख पदको गरिमामा आँच आउने कुनै काम नगरेको स्पष्ट पारेकी छन ।

आफूले करुणाभावले सहयोग गर्न खोजेको विषयलाई झण्डै डेढ वर्षपछि विवादित गराउन खोज्नु आफूविरुद्ध नियोजित कदम भएको उनको दाबी छ ।

उपसभामुख भएको अर्को महिना नै अमेरिका गएकी उपसभामुख रानामाथि अनधिकृत व्यक्तिहरू लैजान खोजेको आरोप लागेको छ । आफूसँगै पाँच जना कार्यक्रममा जाने लागेको भन्दै उनले भिसाका लागि काठमाण्डुस्थित अमेरिकी दूतावासले लिने अन्तर्वार्ताको मिति सारिदिन पत्र लेखेको विषयले अहिले चर्चा पाइरहेको छ ।

दूतावासलाई लेखेको पत्रले हालसालै उपसभामुख रानामाथि प्रश्न उठेको छ । तर शुक्रबार एक विज्ञप्ति जारी गर्दै उपसभामुख रानाले आफूले कार्यक्रममा सहभागी हुन निमन्त्रण आएकाहरूलाई अन्तर्वार्ताको मिति लिइदिन पत्र लेखेको स्वीकार गरेकी छन् ।तर आफूले भिसाका लागि अनुरोध नगरेको भन्दै उनले भनेकी छन्, ‘कसैलाई भिसा दिने वा नदिने स्वतः निर्णय राजदूतावासले आफ्नो नीति र प्रक्रिया बमोजिम गर्ने नै हुन्छ । मैले कसैको भिसाका लागि अनुरोध गरेको छैन, होइन ।’

आफूले लेखेको पत्र मर्यादा अनुरुप भएन भनेर आएको प्रतिक्रियाप्रति आफ्नो ध्यानाकर्षण भएको उनले बताएकी छन् । आफूलाई माया र सद्भाव राखेर सचेत गराउन खोज्नेहरूप्रति कृतज्ञता व्यक्त गर्दै उपसभामुख रानाले भनेकी छन्, ‘तर मैले करुणाभावले सहयोग गर्न खोजेको विषयलाई उक्त पत्र लेखेको झण्डै डेढ वर्षपछि विवादित गराउन खोज्नु मविरुद्ध नियोजित कदम रहेको देखिन्छ ।’

आफ्नो स्वभावगत कमजोरीको कसैले फाइदा लिएको हुनसक्ने तर, आफूले अनैतिक काम नगरेको उनले बताएकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us