काठमाण्डु, ४ साउन– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद् भवन निर्माणले अपेक्षित प्रगति हासिल गर्न नसकेको स्विकार गरेका छन । आज शुक्रबार उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, मन्त्रालयका सचिव मणिराम गेलाल लगायतसँग छलफल गर्दै सभामुख घिमिरेले संसद् भवन निर्माणमा चासो देखाएका हुन ।
उनले भने, ‘कामको प्रगति सन्तोषजनक छैन । यसलाई समयभित्रै (मंसिर)मा सक्नेगरी कागज गरेको छ । अहिलको स्पिरिटले सम्भवै छैन,’ सभामुख घिमिरेले भने । छिटो काम गर्ने र यसका लागि दुई सिफ्टमा काम गर्ने भनिएको तर, यसको कार्यान्वयन हुन नसकेको पनि बताएका छन । उनले भने, ‘दुई सिफ्ट त गफै मात्र भयो ।
एक सिफ्ट पनि चाहिने म्यानपावर प्रयोग भएको देखिँदैन, ‘छिटो सक्ने र गुणस्तरीय काम चाहियो ।’ सुरुको म्यादअनुसार २०७९ भदौमा संसदको भवन निर्माण सक्नुपर्ने थियो ।
तर अझै सम्पन्न भएको छैन । सुरुमा ५ अर्ब २ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । पछि बढेर साढे ५ अर्ब पुगेको छ ।भवन निर्माणको काम टुण्डी सेक ज्वाइन्ट भेन्चरले गर्दै आएको छ ।छलफलमा सहभागी राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले कानुनी अप्ठ्यारो भए सुल्झ्यान आफूहरू तयार रहेको बताएका छन । उपसभामुख इन्दिरा रानाले जति ढिलो भयो त्यही लागत बढ्दै जाने बताइन् ।