न्यूरोडमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल

काठमाण्डु टुडे २०८१ साउन ४ गते १४:३० मा प्रकाशित

काठमाण्डु, ४ साउन– काठमाण्डुको न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको विरोधमा उत्रिएका स्थानीय र महानगर प्रहरीबीच झडप भएको छ । जुद्ध वारुण यन्त्र रहेको कार्यालयमा महानगर प्रतिनिधिहरू रहेको भन्दै त्यहाँ छिर्न खोजेको भीडलाई महानगर प्रहरीले रोक्ने क्रममा दुवै पक्षबीच धकेलाधकेल भएको नगर प्रहरीले जनाएको छ ।

उच्च अदालत पाटनले फुटपाथ विस्तार नरोक्न सडक विभागका नाममा अन्तरिम आदेश दिएपछि महानगरले बुधबारदेखि पुनः फुटपाथ विस्तारको काम सुरु गरेको थियो ।

बिहीबार बिहानैदेखि स्थानीयको भीड न्यूरोड क्षेत्रमा ओर्लिएको थियो । उनीहरूले मेयर बालेन शाह र नगर प्रहरीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन जारी राखेका छन् ।

सडक साँघुरो बनाएर फुटपाथ फराकिलो बनाउन नहुने माग उनीहरूले राखेका छन् । महानगरपालिकाको २२ नम्बर वडाध्यक्ष चिनकाजी श्रेष्ठले आन्दोलनको नेतृत्व गरिरहेका छन् ।

विरोध प्रदर्शनको क्रममा अप्रिय घटना हुन सक्ने भन्दै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । नगर प्रहरी पनि उल्लेख्य संख्यामा खटिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us