मुलुकमा परिवर्तन गर्न यो सरकार बनेको हो: प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ साउन ४ गते ११:५३ मा प्रकाशित

काठमाण्डु, ४ साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको बताएका छन ।

आज (शुक्रबार) नेपाल उद्योग परिसंघका प्रतिनिधिसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

यसअघि नै आफू प्रधानमन्त्री बनिसकेकाले फेरि प्रधानमन्त्री बन्नका लागि मात्रै आफू नआएको तर्क पनि ओलीले बताएका छन । उनले भने, ‘मुलुकको प्रधानमन्त्री बन्नका लागि मात्र म आएको होइन ।

समस्या देखेर, समस्याको समाधान गर्न, परिवर्तन ल्याउनुपर्छ, काम गर्नै पर्छ भनेर आएको हुँ’ । सरकारले निजी क्षेत्रको साथ सहयोग र समर्थन चाहेको भन्दै प्रधानमन्त्री ओलीले सहयोग गर्न उद्योगी व्यवसायीसँग आग्रह गरे ।

ओलीले कुनै पनि करका विषय अनुहार हेरेर गर्न नहुने बताउँदै गलत नीति लिएको बेला निजी क्षेत्रले त्यसको विरोध गर्न सक्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक रहेकोमा जोड दिँदै मौद्रिक नीति कठोर हुन नहुने बताएका छन ।

प्रधानमन्त्री ओलीलाई परिसंघको तर्फबाट बधाई तथा शुभकामना दिँदै अध्यक्ष राजेशकुमार अग्रवालले विगत तीन वर्षदेखि शिथिल अर्थतन्त्रलाई उकास्न सरकार चुक्न नहुने बताएका छन ।

उत्पादनशील र निर्माण क्षेत्र बढी प्रभावित हुँदा बाह्य क्षेत्र उत्साहजनक भए पनि आन्तरिक अर्थतन्त्र अझै समस्यामा रहेको दृष्टान्त दिँदै अध्यक्ष अग्रवालले निजी क्षेत्रको मनोबल बढाउनुपर्नेमा जोड दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us