बीआरआइलाई लिएर काँग्रेस–एमालेबीच विवादः एमाले भन्छ, चीनसँग बेइमानी गर्न सकिँदैन

काठमाण्डु टुडे २०८१ साउन ३ गते २०:१७ मा प्रकाशित

काठमाण्डु, ३ साउन– दुई प्रमुख सत्तारुढ घटक काँग्रेस र एमालेबीच चीनले अघि सारेको महत्वाकांक्षी परियोजना (बेल्ट एण्ड रोड इनिसिएटिभ) बीआरआई) का विषयमा विवाद सुरु भएको छ ।

दुई दलका नेताहरुबाट सार्वजनिक रुपमै दुई बीआरआईको पक्ष र विपक्षमा अभिव्यक्ति आउन थालेको हो । काँग्रेस प्रवक्तासमेत रहेका पूर्वअर्थमन्त्री प्रकाशशरण महतले केही सातअघि सहुलियतपूर्ण ऋण र अनुदानबाहेक बीआरआई परियोजना अगाडि बढाउन नसकिने बताएका थिए । तर, बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी ओलीको दल एमालेका स्थायी समिति सदस्य डा. राजन भट्टराईले बीआरआई कार्यान्वयन गर्नुपर्ने बताए ।

नेपालले सम्झौता गरिसकेका कारण बीआरआईबाट पछि हट्न नसकिने उनको भनाइ छ । ‘बीआरआईमा हामीले सम्झौता गरिसकेका छौं । सहमति भइसकेको विषयमा अब म तँसित गर्दिनँ भन्न मिल्छ ? नजिकको छिमेकी, राइजिङ पावर । त्यो अवस्थामा हामी सहमति गरिसकेको कुराबाट पछाडि हट्न सक्छौं ? हामी कदापी सक्दैनौं’, नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गेरको कार्यक्रममा एमाले परराष्ट्रमामिला विभाग प्रमुखसमेत रहेका भट्टराईले भने, ‘७ वर्षअघि गरेको सम्झौता, अहिले आएर यो म गर्दिनँ भनेर एउटा जिम्मेवार दल, व्यक्ति वा शक्तिले गर्न सक्दैन । यो पृष्ठभूमिमा हामीले बीआरआई अगाडि बढाउनुपर्छ ।’

चीनले बीआरआईमा अघि बढ्न प्रस्ताव गरिरहेको तर नेपालले आनाकानी गरिरहेको भन्दै उनले तत्काल कार्यान्यवनमा जाने पक्षमा सरकार रहेको बताए । उनी केपी ओली यसअघि प्रधानमन्त्री हुँदा उनको परराष्ट्र मामिला सल्लाहकार समेत थिए । उनले बीआरआई कार्यान्यवनमा जानेबारे पूर्ववर्ती पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा विवाद भएको जानकारी आफूले पाएको भन्दै भट्टराईले बीआरआईलाई खेलाँचीका रुपमा नलिन चेतावनी दिए । भट्टराईले जुनसुकै दातृ निकाय र दातृ राष्ट्रसँग अनुमादन लिने नेपालको नीति हेको भन्दै बीआरआईका हकमा त्योभन्दा फरक हुन नसक्ने स्पष्ट गरे ।

भट्टराईले पाएसम्म अनुदान र कम ब्याजदरमा सहुलियतपूर्ण कर्जा लिनुपर्ने तर, प्रतिफल दिने आयोजना छ भने महंगो ब्याजमै भए पनि विदेशी सहयोग स्वीकार गर्नुपर्ने उनको भनाइ थियो । उनले बीआरआई परियोजनाबारे नेपालमा नियतबस भ्रम छरिएको दाबीसमेत गरे । उनले बीआरआई परियोजना कार्यान्यवन नभए चीनप्रतिको बेइमानी हुनेसमेत बताए । ‘आज चीनसँग बेइमानी गर्नेहरूले भोलि अर्को कुनै मुलुकसँग गर्दैनौं भन्ने कुरा पत्याउने ? मुलुकको प्रतिष्ठा र विश्वासको कुरालाई हल्कारुपमा प्रस्तुत गर्ने र लिने कुरा त्रुटिपूर्ण हुन । त्यसलाई सच्याएर हामी अघि बढ्नुपर्छ’, उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us