
काठमाण्डु, ३ साउन– सिमलताल पहिरोमा परेर त्रिशूलीमा हराइरहेको बसका अर्का एक यात्रुको शव भेटिएको छ । भरतपुर महानगरपालिका–२६ शिशुवार क्षेत्रमा नारायणी नदीको किनारमा एक पुरुषको शव आज भेटिएको प्रहरीले जानकारी दिएको छ ।
शवको सनाखत हुन बाँकी रहेको छ । शवलाई भरतपुर अस्पताल ल्याएर पोष्टमार्टम गरिँदैछ । योसँगै सिमलताल दुर्घटनामा बेपत्ता बनेका २० जनाको शव फेला परेको छ । जसमध्ये १४ जनाको सनाखत भएर परिवारले शव बुझेर लगेका छन् ।
गत असार २८ गते विहान नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ मा सिमलतालमा पहिरोले दुई वटा यात्रुबाहक बस बगाएको थियो । ६२ जना यात्रुसहित बस त्रिशूलीमा बेपत्ता भएको थियो ।
नदीमा अझै ४२ यात्रुको अवस्था अज्ञात छ । शशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटार र नेपाली सेनाका विपद् व्यवस्थापन गण रसौलीका तालिम प्राप्त सुरक्षाकर्मीले विभिन्न प्रविधिको प्रयोग गरेर बसको खोजतलास गरे पनि घटना भएको ७ दिनसम्म पनि बस फेला पार्न सकेका छैनन् ।